भारतको उत्तराखण्डमा फेरि हिमनदी विस्फोट

कम्तीमा दुईको मृत्यु, ३८४ को उद्धार

भारतको उत्तराखण्डमा फेरि हिमनदी विस्फोट

नयाँदिल्ली — भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा फेरि हिमनदी विस्फोटपछि गएको पहिरोमा पुरिएर कम्तीमा दुई जनाको मृत्यु भएको छ ।  ३८४ जनाको भने सकुशल उद्धार गरिएको छ ।

भारतीय सेनाका अनुसार बोर्डर रोड अर्गनाइजेशन (बीआरओ) सडक निर्माणका लागि बनाइएको शिविर हिम पहिरोमा पुरिएको बताइएको छ । त्यहाँ कति सैनिक जवान, कामदार र प्राविधिक थिए भन्ने अझै प्रस्ट भएको छैन । त्यसैगरी उत्तरखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले पनि ट्वीट गर्दै हिमपहिरोको घटना र भएको क्षति सम्बन्धमा स्थानीय प्रशासनसँग जानकारी लिइरहेका बताएका छन् ।

दुई महिनाअघि पनि चमोली क्षेत्रमा हिमनदी विस्फोट हुँदा ठूलो मात्रामा जीउधनको क्षति भएको थियो । हिमनदी विस्फोटपछि आएको बाढीका कारण त्यस क्षेत्रमा रहेका निर्माणाधीन जलविद्युत् परियोजना बाढीले पुरिँदा त्यहाँ काम गर्ने ७० भन्दा बढीको ज्यान गएको थियो भने १५० जना बेपत्ता भएका थिए । त्यहाँ कार्यरत दस जना नेपाली कामदारहरु अझै पनि हराइरहेका छन् ।