पासाङल्हामु शेर्पाको सम्झनामा '२८औं पासाङ प्रतिष्ठा दिवस' मनाइयो

पासाङल्हामु शेर्पाको सम्झनामा '२८औं पासाङ प्रतिष्ठा दिवस' मनाइयो
काठमाडौं चाबहिलस्थित पासालल्हामु शेर्पाको शालीकमा माल्यार्पण गर्दै पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा। उनको सम्झनामा आज २८औं प्रतिष्ठा दिवस मनाइँदैछ। तस्बिर : मदन चौधरी
पासाङल्हामु शेर्पाको सम्झनामा '२८औं पासाङ प्रतिष्ठा दिवस' मनाइयो

विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली महिला पहिलो पटक पुगेको दिन आज २८औं पासाङ प्रतिष्ठा दिवसको रुपमा मनाइयो। स्वर्गीय पासाङल्हामु शेर्पा आजकै दिन अर्थात २०५० साल वैशाख १० गते पहिलो नेपाली महिला आरोहीका रुपमा सगरमाथाको शिखरमा पुग्न सफल भएकी थिइन्। तर शिखरबाट फर्किने क्रममा प्रतिकूल मौसमका कारण उनको दुःखद निधन भएको थियो।

सोही अवसरमा काठमाडौं, चाबहिलको चुच्चेपाटीस्थित स्वर्गीय पासाङल्हामु शेर्पाको शालिक रहेको स्थलमा संक्षिप्त कार्यक्रम आयोजना गरिएको थियो। कोरोना भाइरसको संक्रमण फैलिरहेका कारण सरकारले तोकेको मापदण्ड बमोजिम सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो।

प्रमुख अतिथि एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पासाङल्हामु शेर्पाको शालिकमा माल्यार्पण गरेका थिए। त्यस्तै स्वर्गीय पासाङल्हामु शेर्पाका पति एंव पासाङल्हामु पर्वतीय प्रतिष्ठानका संरक्षक ल्हाक्पा सोनाम शेर्पा, प्रतिष्ठानका कार्यबाहक अध्यक्ष सिताराम सापकोटा, स्वर्गीय पासाङल्हामुकी सहयात्री एंव नेपाल सरकारको नेपाल पर्वतारोहण अध्ययन प्रतिष्ठानकी अध्यक्ष ल्हाकफुटी शेर्पालगायतले फूलका गुच्छा अर्पण गरेका थिए। त्यसबखत पासाङल्हामुको सम्झनामा एक मिनेट मौनधारण पनि गरिएको थियो।