पूर्वतयारी नै उत्तम विकल्प

पूर्वतयारी नै उत्तम विकल्प

गोरखा भूकम्प आधुनिक समयमा नेपालमा गएको पहिलो ठूलो भूकम्प हो । हुन त सन् १५०५ मा मुस्ताङ आसपास म्याग्नेच्युड ८ भन्दा ठूलो भूकम्प गएको थियो, जसका असरबारे विभिन्न जानकारी पुराना दस्तावेजहरूमा पाइन्छन् ।

गोरखा भूकम्पअघि सन् १९३४ (१९९० साल) मा पूर्वी नेपालमा गएको म्याग्नेच्युड ८.२ को भूकम्पले १० हजारभन्दा बढीको ज्यान लिएको थियो । यी दुई भूकम्पको समयमा आधुनिक सेस्मोमिटर (भूकम्प नाप्ने यन्त्र) को विकास भएको थिएन । सन् १९६० को दशकपछि मात्र विश्वमा आधुनिक सेस्मोमिटरको विकास भएकाले मुस्ताङ र पूर्वी नेपालका भूकम्पको गुणस्तरीय नाप हुन सकेको थिएन; यी भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी जमिनको सतहको भौगर्भिक अध्ययन तथा ऐतिहासिक उल्लेखहरूबाट आएका हुन् ।

सेस्मोमिटरमा रेकर्ड नभएका भूकम्पहरूको अध्ययन धेरै कठिन हुने भएकाले भूकम्पविद्हरू सन् १५०५ र १९३४ का भूकम्पबाट सीमित जानकारी मात्र पाउन सफल भए । तर, सन् २०१५ (२०७२ साल) को गोरखा भूकम्प नेपालका दर्जनभन्दा बढी र विदेशका सयौं सेस्मोमिटरले नापेका हुनाले तथा भूकम्पलगत्तै नेपालमै सयौंको संख्यामा सेस्मोमिटर जडान गरी परकम्पहरू रेकर्ड गरिएको हुनाले यसबारे पर्याप्त अध्ययन गर्न सम्भव भयो । फलस्वरूप उक्त भूकम्पबाट मध्य–नेपालको जमिनमुनिको भू–बनोट, भूकम्पको दरार तथा हिमालयमा जाने भूकम्पका विशेषताहरूबारे केही नयाँ विषय पत्ता लागेका छन् ।

प्रमुख हिमालयन थ्रस्टमा भिन्नता

नेपालमा भूकम्प विज्ञान नयाँ विषय हो, अपवादबाहेक जसको पढाइ नेपाली विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरूमा हुँदैन । भूकम्पीय जोखिममा रहेको नेपाललाई विश्वका धेरै भूकम्पविद्हरूले अध्ययनको क्षेत्र बनाउँदै आएका छन् । विभिन्न देशका वैज्ञानिकहरूले नेपालबारे अध्ययन गरेर केही महत्त्वपूर्ण जानकारीहरू जम्मा गरेका छन् । अध्ययनले देखाए अनुसार, नेपालमा भूकम्प जाने प्रमुख कारण इन्डियन प्लेट तिब्बतियन प्लेटमुनि घुस्नु हो । यी दुई प्लेटबीचको सीमालाई प्रमुख हिमालयन थ्रस्ट फल्ट भनिन्छ । नेपालमा जाने प्रायः भूकम्पको कारक यही फल्ट हो । वैज्ञानिकहरूले विभिन्न विधि प्रयोग गरेर उक्त फल्टको अवस्था र स्थितिबारे अध्ययन गरिरहेका छन् ।