दिल्लीमा थप एक साता लकडाउन

दिल्लीमा थप एक साता लकडाउन

नयाँदिल्ली — भारतको राजधानी नयाँ दिल्लीमा कोरोना महामारीका भयावह बन्दै गएपछि लकडाउन थप एक साताका लागि बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिउँसो अर्को एक साताका लागि लकडाउन बढाइएको घोषण गरेका हुन् ।

कोरोनाको संक्रमणको साङ्लो तोडन भन्दै दिल्ली सरकारले अघिल्लो सोमबार एक साताका लाागि लकडाउन लागू गरेको थियो । तर, संक्रमणमा अपेक्षाकृत ढंगले कमी नआए पछि सोमबार बिहानसम्मको पहिलो लकडाउन सकिनु अघिल्लो दिन नै केजरीवालले ३ मेको बिहान पाँच बजेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् । दोस्रो चरणको लकडाउन सोमबार राति १० बजेदेखि लागू हुनेछ ।

दिल्लीको अन्य राज्यहरुको तुलनामा संक्रमण दर पनि उच्च रहेको छ । दैनिक परीक्षणमा करीब ३७ प्रतिशतका दरले कोरोना पुष्टि भइरहेको छ । संक्रमणमा अघिल्लो साताभन्दा थोरै गिरावट देखिए पनि अवस्था अझै पनि भयावह छ । दिल्लीमा शनिबार मात्रै २४ हजार १०३ नयाँ संक्रमित थपिएका छन् । र, ३५७ जनाको मृत्यु भएको थियो । शनिबार थपिएका गरी दिल्लीमा सक्रिय संक्रमितको संख्या करीब एक लाख पुगेको छ ।

संक्रमण बढेसँगै अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव देखिएको छ । अस्पतालहरुमा अक्सिजन आपूर्ति अवरुद्ध हुँदा धेरैको ज्यान गएको छ । बिहिबार र शुक्रबारमात्र दिल्लीका दुईवटा अस्पतालमा अक्सिजन अभावका कारण ४५ जनाको ज्यान गएको थियो । त्यसैगरी बिरामीको चाप बढेकाले अस्पतालहरुले नयाँ बिरामी लिन छाडेका छन् ।